केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुइ चरणमा निर्वाचन गर्ने सरकारको निर्णय, एमाले असन्तुष्ट

सहयात्रा टिभी

बैशाख ११, २०७४ । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ को र दोश्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुने निर्णय गरेको हो । बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न निर्वाचन आयोगलाइ आग्रह पनि गर्ने भएको छ । बैशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले १६ गते उम्मेदारी दर्ताको समय तोकेको छ । त्यस्तै, बैठकले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
एमाले असन्तुष्ट
नेकपा एमालेले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । संसद भबन नया“ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोश्रो चरणको चुनाव जेठ १५ अघि नै गर्नु पर्ने निष्कर्ष निकालेको हो । संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने भएकाले बजेट अघि र बजेट पछि दुई चुनाव हुन निर्वाचन आचारसंहिताले नदिने एमालेको ठहर छ । बैठकमा ओलीले एमालेलाई बाहिर राखेर दलहरुबीच भएको सहमति मान्य नहुने धारणा राख्नुभएको थियो । एमालेलाई लत्याएर संसोधन प्रस्ताव तयार गरिएको भन्दै अध्यक्ष ओलीले स्वीकार्य नहुने बताउनुभयो ।
दाहाल–ओली भेट
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र मधेस केन्द्रीत दलबीच भएको सहमतिको लिखित दस्तावेज अध्ययनपछि मात्रै धारणा बनाउने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटमा अध्यक्ष ओलीले सहमतिको लिखित दस्तावेज अध्ययनपछि मात्रै एमालेले धारणा आउने जवाफ दिनुभयो । प्रधानमन्त्री दाहालले मोर्चा र संघीय गठबन्धनस“ग दुई चरणमा निर्वाचन गर्ने र परिमार्जनसहित संविधान संशोधन गर्ने विषयमा भएको सहमतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । ओलीले परिमार्जनसहितको संविधान संशोधनको लिखित दस्तावेज माग्नु भएको थियो ।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्