केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारसंग एमाले रुष्ठ, संसद अवरूद्ध, चुनावको वातावरण बिथोलिने चेतावनी

सहयात्रा टिभी

बैशाख १२, २०७४ । सरकारले गर्न लागेको संविधान संशोधन प्रक्रियामा नकारात्मक रहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारसंग झन रुष्ठ भएको छ । सरकारले पहिलेको भन्दा झन खतरनाक संविधान संशोधन प्रस्ताव ल्याएको र संवैधानिक व्यवस्था विपरित तराईमा स्थानीय तहको संख्या बढाउन खोजेको एमाले व्यवस्थापिका संसद्को बैठक पनि अवरूद्ध गरेको छ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी विभिन्न जिल्लामा कोटा बाँडेर परिपत्र गरेको एमालेको आरोप छ । बैठकको प्रारम्भमै समय लिएर बोल्दै सांसद गंगालाल तुलाधरले सो विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएपछि एमाले सासंसदहरुले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र गरेको विषय सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
निर्वाचन आयोगसंग असन्तुष्टि, संशोधन बिधेयक असफल पार्ने
नेकपा एमाले स्थायी कमिटी बैठकले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले एक महिनाको अन्तर पारेर दुई चरणमा चुनाव गराउन खोज्नु र बजेट भाषणपछि बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षडयन्त्रमूलक रहेको ठहर गरेको छ । बैठकले सरकारको षडयन्त्रको शिकार नबन्न आयोगलाइ आग्रह समेत गर्ने निर्णय गरेको छ । आयोगमा संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको टोलीले गम्भीर आपत्ति सहितको लिखित असहमति दर्ज गर्ने छन । बैठकका अध्यक्ष केपी ओलीले जेठ १५ गते चुनावी बजेट पेश गरेर त्यहि बजेटको भाषण गर्दै भोट माग्न जाने सत्तापक्षको षडयन्त्रलाई कुनै हालतमा सफल हुन नदिने बताउनु भएको थियो । बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन बिधेयक पारित हुन नदिने समेत निर्णय गरेको छ ।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्