केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको घोषणापत्र – ‘नमूना स्थानीय सरकार’ को अवधारणा

सहयात्रा टिभी

बैशाख १२, २०७४ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । लामो छलफल र सुझाव संकलनपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक गर्दै सभापति शेरबहादुर देउवाले ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई कांग्रेसले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर, एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल लगायतका कार्यक्रम घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । यस्तै, ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती,स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट लगायतका विषयलाइ पनि कांग्रेसले प्राथमिकता दिएको छ । कांग्रेसले नेता महेश आचार्यको नेतृत्वमा गठित मस्यौदा समितिले घोषणापत्र निर्माण गरेको हो ।
घोषणापत्रमा स्थानीय तहको अधिकारमा श्रोत पर्याप्त बनाउने विषय समेटिएको संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँले तीन वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना गर्ने, गाउँ तहमै उद्योग स्थापना र भएका उद्योगलाई प्रोत्साहन गर्ने, कृषि जडिबुटी, पर्यटन र जलस्रोतमा जनशक्ति परिचालनको योजना, शैक्षिक बेरोजगारलाई हरेक क्षेत्रमा सहुलियत दिने कार्यक्रममार्फत् समृद्धिको खाका निर्माण भएको बताउनुभयो ।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्