केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिका लागि कांग्रेसको दौडधूप, एमाले टसमस भएन

सहयात्रा टिभी

बैशाख १६, २०७४ । प्रमुख राजनीतिक दलहरुबीच सहमति नहुँदा बैशाख ३१ र जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन संकटमा पर्न थालेको छ । सरकार स्वयं नै दुइ चरणमा चुनाव गर्दा प्राविधिक समस्या आउने निष्कर्षमा पुगेपछि चुनावी अन्यौल झन बढेको हो । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुइ चरणमा चुनाव गर्दा समस्या हुन सक्ने बताएपछि प्रतिपक्षी नेकपा एमाले र हालै गठित मधेश केन्द्रीत दलहरुको नयाँ पार्टी राजपा, नेपालले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान लिएका थिए । दुइ चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले तालिका नै सार्वजनिक गरिसकेकाबेला दलहरु भने जेठ ३१ गते एकै चरणमा निर्वाचन गर्ने गृहकार्यमा जुटेको पाइन्छ । यसै विषयमा आज नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएपनि कुनै सहमति हुन सकेन । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला लगायतका नेता एमाले अध्यक्ष केपी ओली निवास बाल्कोट पुगेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनः एकैचरणको निर्वाचन गर्न असंभव हुने बताएका थिए । एमालेका नेताहरुले भने बजेटअघि जेठको ११ र १२ गतेतिर एकैचरणको निर्वाचन गर्नुपर्ने जवाफ दिएका थिए । कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने भन्दै पुनः संसद अवरोध गर्ने जवाफ दिएका थिए । कांग्रेस सभापति देउवाले विधेयकमाथि एमालेको सरोकारको विषयलाई समेत संशोधनमार्फत ल्याई सहमतिका लागि छलफल गर्न सकिने बताएका थिए । एमालेले बहुसंख्यक भाषालाई मान्यता दिने, प्रदेशसभा गठन नभएको अवस्थामा प्रदेशको सीमाकंनसम्बन्धी विषय व्यवस्थापिका संसदले हेरफेर गर्नसक्ने गरी संशोधन गर्न ल्याएको भन्दै आपत्ति जनाउँदै आएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता नरहने गरी ल्याइएको संशोधनमा समेत एमालेको आपत्ति छ । भाषा र संविधानको धारा २७४ को संशोधनसम्बन्धी व्यवस्थामा पनि एमलेले आपत्ती जनाएको छ । यस्तै, तराईका एघार जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने निर्णयको एमालेले विरोध गरेको छ । ओलीसँगको छलफलपछि कांग्रेस नेताहरु सिधै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न गएका थिए । प्रधानमन्त्रीसंगको छलफलमा एमालेको अडान र संघीय गठवन्धनका माग तथा निर्वाचनका विषयमा कसरी अगाडि बढने विषयमा समीक्षा भएपनि कुनै निर्णय भने हुन सकेन । यसअघि प्रधानमन्त्री दाहालसहित नेकपा माआवादी केन्द्रका नेताहरुले एमालेसंग लगातार दुइ दिन वार्ता गरेपनि परिणाम आउन सकेको थिएन ।
एमालेसंग कांग्रेस क्रुद्ध
नेपाली कांग्रेसले सहमतिका लागि एमाले बाधक देखिएको भन्दै जिम्मेवार बन्न एमालेलाइ आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस नेताहरुले देश र जनताप्रति जिम्मेवार बन्न एमालेलाई सुझाव दिए । स्थानीय तह निर्वाचनमा कांग्रेसको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेताहरु बिपक्षी एमालेप्रति खनिए । कांग्रेस सभापति शेरबहादुर देउवाले तराईका दलहरुले पनि निर्वाचनमा भाग लिने वातावरण बनिरहेको भन्दै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई मिलाएर कांग्रेस अघि बढ्न खोजे पनि एमालेले समस्या सिर्जना गरिरहेको आरोप लगाए । स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक रमेश लेखकले संविधान कार्यान्वयनका लागि कांंग्रेसले जित्र्नैपर्ने तर्क गरे । स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक गगन थापाले संविधान संशोधन गर्न नदिने एमालेको अडान आपत्तीजनक भन्दै एमालेको अडानले निर्वाचन बिथोलिएमा आम नेपाली नागरिकको अपमान हुने बताए ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्