केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद् र सरकारसँग न्यायालयको दुरी छताछुल्ल

सहयात्रा टिभी

काठमाडौं । सरकारका तीन प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच सम्बन्ध सुध्रिन थालेको महसुस गरिएपनि व्यवहारमा भने ठीक उल्टा देखिएको छ । सर्वोच्चको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश काममा फर्कनु, संसद् जेठ ४ गतेसम्मका लागि स्थगित हुनु, सरोकारवाला निकायका सन्तुलित अभिव्यक्ति लगायतले तीनवटै निकायबीच अब विवाद साँघुरिन थालेको आभाष भएको थियो । तर, मंगलवार कानून दिवसका अवसरमा आयोजित विशेष सभामा कार्यपालिका र व्यवस्थापिकाका प्रमुख नै अनुपस्थित भए । ६५ औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कानून मन्त्री अजयशंकर नायक, महान्यायाधिवक्ता रमण श्रेष्ठ लगायत कैयौ भीभिआइपी अनुपस्थित भए । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, बिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली पनि अनुपस्थित भए । कार्यक्रममा सरकारकातर्फबाट एक जना मन्त्री (राम कार्की) मात्र सहभागी भए । चियापानमा राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने सहभागी भए । सर्वोच्च परिसरमा नेताहरुका लागी राखिएको कुर्सी खाली थियो । कानून दिवसमा भिभिआइपीहरुको यो प्रकारको अनुपस्थितिले प्रहरी महानिरीक्षकको नियुक्ति, प्रधानन्यायाधीशलाइ महाअभियोग लगायतका विषयका कारण तीन प्रमुख निकायबीच चर्किएको द्धन्द्ध अझै सेलाएको छैन भन्ने पुष्टि भएको छ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्