केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । यही जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन हुने ४ प्रदेशका ४३ जिल्लामा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा हुने निर्वाचनका लागी ४३ जिल्लामा यसअघि नै स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले काम सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ स्थानीय तहमा भने १५ गतेबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ । जिल्लागत रुपमा ४१ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने भएपनि रुकुम र नवलपरासीका केहि भुभाग २ वटा प्रदेशमा परेकाले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको सुचीमा यी दुई जिल्ला पनि थप गरिएको हो । दोस्रो चरणमा १२ उपमहानगर, १ सय ५६ नगरपालिका र २ सय ९३ गाउँपालिकामा निर्वाचन हुनेछ । निर्वाचन कार्यक्रम अनुसार जेठ १९ गते उम्मेद्वारको मनोनयन, जेठ २२ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गरी सोहि दिन चुनाव चिन्ह वितरण गर्ने आयोगले जनाएको छ । निर्वाचनमा चार प्रदेशका ९० लाख ९७ हजार ५ सय ५७ मतदाता सहभागी हुनेछन् । यसैबीच दोस्रो चरणको निर्वाचनमा स्वस्तिक चिन्हको रंग परिवर्तन हुने निर्वाचन आयोगले जनाएको छ । मतपत्र र स्वस्तिक चिन्हको रंग एउटै भएकाले मत बदर भएको गुनासो आएपछि आयोगले नीलोको सट्टा रातो रंगको स्वस्तिक चिन्ह प्रयोगमा ल्याउने तयारी गरेको हो ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्