केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तराईमा २३ स्थानीय तह थप, बिराटनगर र बिरगंज महानगर घोषणा, २४ गाउँपालिका नगरपालिकामा परिणत

सहयात्रा टिभी

काठमाडौं । सरकारले तराईका २ उपमहानगरलाई महानगर तथा तराईकै जिल्लामा २३ वटा नयाँ गाउँपालिका थप गरेको छ । मन्त्रिपरिषद् बैठकले २४ गाउँपालिकालाई नगरपालिका बनाएको छ । मधेसी दल र नेताहरूले जनसंख्याको अनुपातमा तराईका जिल्लामा गाउँपालिका र नगरपालिकाको संख्या बढाउनुपर्ने माग गर्दै आएका थिए । दोस्रो चरणको निर्वाचनमा मधेसी दलहरुलाई सहभागी गराउन सरकारले स्थानीय तहको संख्या बढाएको हो । उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार नेतृत्वको कार्यदलले लगातार तराई जिल्लाका सांसदहरुसँगको छलफलपछि मन्त्रिपरिषदसमक्ष तराईमा संख्या बढाउने सिफारिस गरेको थियो । कार्यदलको सिफारिसमा तराईका १२ जिल्लामा स्थानीय तहको संख्या वृद्धि गरिएको हो । धनुषा, बारा, बाँके र कैलालीमा एक–एक, सुनसरी, सप्तरी, रौतहट, पर्सामा दुइ–दुइ, सर्लाही, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा तीन–तीनवटा गाउँपालिका वृद्धि गरिएको छ । अब स्थानीय तहको संख्या ७ सय ६६ पुगेको छ । विराटनगर र वीरगन्जलाई महानगर बनाइएको छ । दुईवटै पूराना शहर यसअघि उपमहानगर थिए । सरकारको यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । स्थानीय तह पुर्नंसंरचना आयोगले निर्धारण गरेको स्थानीय तहको संख्या र सीमानामा सरकारले दोस्रो पटक फेरबदल गरेको हो । पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचन भइसकेको छ । थपिएको संख्या सहित ४ सय ८३ स्थानमा जेठ ३१ गते निर्वाचन हुनेछ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्