नवौं दिनपनि मतगणना जारी, तीन महनगरमा एमाले र एउटामा कांग्रेस अगाडि

सहयात्रा टिभी

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत चारवटा महानगरपालिकाको मतगणना आज नवौं दिनपनि जारी छ । ताज परिणाम अनुसार काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले आफनो अग्रता कायमै राखेको छ । ललितपुर महानगरलपालिकामा भने कांग्रेस अगाडि देखिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य चालिस हजार नजिक पुग्नुभएको छ । कांग्रेस उम्मेदवार राजुराज जोशी तीस हजार नजिक हुनुहुन्छ । यस्तै, विवेकशिल पार्टीकी रञ्जु दर्शाना चौध हजार नजिक हुनुहुन्छ । पाँचौं स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १० हजार नघाउनु भएको छ । माओवादी केन्द्रका सर्वोत्तम डंगोल बल्लतल्ल चार हजार पुग्नु भएको छ । उता, भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहाला भन्दा तीन हजार मतले अघि हुनुहुन्छ । पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसी कांग्रेस उम्मेदवार रामजी कुँवर भन्दा चार हजार मतले अघि हुनुहुन्छ । यता, ललितपुर महानगरपालिकामा भने एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाइ कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले करिब एक हजार मतले पछाडी पार्नुभएको छ । चारवटै महानगरपालिकाको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्