केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 बिपक्षीले हलो अड्काएपछि प्रधानमन्त्रीको राजीनामा अन्यौलमा, संसद बुधवारसम्मका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्रीले व्यवस्थापिका संसद्को बैठकमा विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेपनि बिपक्षी एमालेको अडानका कारण मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको इच्छा पूरा हुन सकेन । सत्तासाझेदार कांग्रेससंगको भद्र सहमति अनुसार प्रधानमन्त्रीले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि राजीनामा दिने तयारी गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनको मुखमा स्थानीय तहको संख्या थपेको भन्दै बैठक चल्न नदिने चेतावनी दिएपछि संसद् मंगलवार दिनभर चल्न सकेन । सहमतिका लागि दलहरुबीच पटक–पटक छलफल भएपनि त्यो फलदायी हुन सकेन । यो बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भनाभन पनि भएको थियो । ओलीले सत्ता बाहेक केही नदेख्ने भन्दै देउवामाथि कटाक्ष गरेका थिए । सभापति देउवाले म प्रधानमन्त्री हुँदा तपाईलाइ के को समस्या भन्दै जवाफ फर्काएका थिए । दिउँसो ३, साँझ ५ र ७ बजे बस्ने भनी पटक–पटक बैठक सारिएपनि शीर्ष तीन दलबीच कुरा नमिल्दा बैठक बुधवार ११ बजेका लागि सारिएको छ । एमालेले स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता लिन माग गर्दै आएको छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्