केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रज्ञा प्रतिष्ठानको त्रिदिवसिय गोष्ठी सकियो

सहयात्रा टिभी

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी’ सकिएको छ । प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि गोष्ठी आयोजना गरेको । सङ्गोष्ठीसफल भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सङ्गोष्ठीको समापन गर्दै कवि तथा साहित्यकारहरूले नलेख्ने हो भने समय सुस्त हुने बताउनुभयो । साधकहरू आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई जनही एक लाख रुपैयाँ राशिको पुरस्कारद्वारा सम्मान गर्दै आरम्भ भएको सङ्गोष्ठीलाई प्रतिष्ठानका पूर्व कुलपतिद्वय माधवप्रसाद घिमिरे, वैरागी काइँला, संस्कृतिविद् सत्यमोहन जोशी, सिक्किमकी साहित्यकार डा. कविता लामालगायतले सम्बोधन गर्दै समापन भएको हो । देशका सातवटै प्रदेश र भारतका असम, कलकत्ता, डुवर्स, सिलगुढी, सिक्किम, कालेबुङ, दार्जिलिङबाट स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सङ्गोष्ठीमा ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्यनमा १९५० को शान्ति तथा मैत्री सन्धिको सान्दर्भिकता’, ‘नेपालमा बोलिने भाषाहरूको संवैधानिक स्थिति र भाषिक नीति’ विषयमा समूह विमर्श तथा विचारगोष्ठी आयोजना गरिएको थियो । यसैगरी ‘समकालीन नेपाली कवितामा समाज’, ‘समकालीन नेपाली आख्यानमा राजनीति’, ‘समालोचनामा ‘म’को उपस्थिति ः कति सान्दर्भिक कति असान्दर्भिक’, ‘अनुवादक परिचय कोशः परिकल्पना, निर्माण प्रक्रिया र चुनौती’, ‘नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती’, ‘नेपालमा बालसाहित्यः हिजो, आज र भोलि’ शीर्षकमा बहस चलाइएको थियो । अन्तिम दिन चारवटा कार्यपत्रमाथि छलफल गरियो । डा. साफल्य अमात्यले ‘नेपालमा नदी संस्कृतिः एक अवलोकन’, डा. काशीनाथ न्यौपानेले ‘दर्शन परम्परामा दुःखनाश र आनन्द प्राप्तिको अवधारणा’, डुवर्सका रूपेश शर्माले ‘भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था’ र सिलगुढीका डा. कृष्णराज घतानीले ‘भारतीय नेपाली साहित्यमा पद्य साहित्यको अवस्था’ शीर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्