केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘उम्मेदवारी दर्ता उत्साहपूर्ण, अब निर्वाचन कसैले रोक्न सक्दैन ’

सहयात्रा टिभी

बैशाख १९, २०७४ । पहिलो चरणको निर्वाचन अन्तर्गत बिभिन्न तीनवटा प्रदेशका लागि उम्मेदवारी मनोनयनको काम उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रदेश नम्बर ३, ४ र ६ का लागि आज उम्मेदवारी दर्ताको समय तोकेको थियो । काठमाडौँं उपत्यकासहित तीनवटै प्रदेशका सबै जिल्लामा उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । खासगरी प्रमुख दलहरुलाइ भने उम्मेदवार चयन गर्न नै निकै सकस परेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उपत्यकाका अन्तिम समयमा मात्रै उम्मेदवार छनौट गरेका थिए । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ठूलो रस्साकस्सीपछि ४ वटै महानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउँदै उम्मेदवारी दियो ।

कांग्रेसको काठमाडौंमा राजुराज जोशी 

कांग्रेसले काठमाडौंको मेयरमा राजुराज जोशी, उपमेयरमा हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेद्वार बनाएको छ । त्यस्तै, पोखरामा रामजी कुँवर मेयर र सरस्वती गुरुङलाई उपमेयर, भरतपुर महानगरापालिकामा मेयरमा दिनेश कोइराला र पार्वती शाहलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
काठमाडौंमा एमालेको मेयरको उम्मेद्वार बिद्यासुन्दर शाक्य
नेकपा एमालेले काठमाडौंमा मेयरका लागि बिद्यासुन्दर शाक्यलाइ चयन गरेको छ । स्थायी कमिटी बैठकमा लामो छलफलपछि शाक्य उम्मेदवार तोकिएका हुन । यस्तै, एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । दुवै जिल्लामा उपमेयर भने एमालेले राप्रपालाइ छाडेको छ ।
राप्रपाका राजाराम श्रेष्ठ उपमेयर
काठमाडौं महानगरपालिकाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयरमा राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेसंग चुनावी तालमेल रहेकाले मेयरको चर्चा भएपनि उहाँले उपमेयरमा उम्मेदवारी दिनुभएको हो । ललितपुरमा राप्रपाका राजुकाजी प्रधानले मेयरमा र हरिकृष्ण व्यञ्जनकारले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी साझा पार्टीका तर्फबाट मेयरमा किशोर थापा र उपमेयरमा निरुपमा यादवले उम्मेदवारी दर्ता गराउन ुभएको छ । काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ । दुवै पार्टीका अध्यक्षबीच यो विषयमा कुराकानी भैसकेको छ ।
माओवादीका सर्वोत्तम डंगोल
काठमाडौं महानगरपालिको मेयर पदमा नेकपा(माओवादी केन्द्र)का तर्फबाट मेयरमा सर्वोत्तम डंगोलले उम्म्दवारी दिनुभएको छ । उपमेयरमा सुशीला पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
रञ्जुको आकर्षण
काठमाडौंमा मेयर पदमा विवेकशील नेपाली दलबाट रन्जु (दर्शना) न्यौपानेले उम्मेद्वारी दिनुभएको छ । उम्मेदवारी दन दर्शना बिहान दश बजे नै राष्ट्रिय शभागृह पुग्नु भएको थियो । यस्तै, राष्ट्रिय जनमोर्चाबाट डा. निर्मलकुमार थापा र देशभक्त पर्यावरणीय सामाजिक मोर्चाका सुरेन्द्रप्रसाद ढकालले उम्मेदवारी दिनु भएको छ । त्यस्तै किशोर थापा, विनोदकुमार क्षत्री र अमोट महर्जनले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । काठमाडौंको उपमेयरमा जनमोर्चाका तर्फबाट ऋतु सापकोटा केसी र स्वतन्त्र उम्मेदवारतर्फबाट निरुपमा यादव र जनिसा भट्टराई रहेका छन ।
नयाँ शक्ति र फोरमको संयुक्त उम्मेद्वारी
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि संयुक्त उम्मेदवारी दर्ता गरेका छन् । दुवैका तर्फबाट काठमाडौं मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्यालले उम्मेदवारी दिनुभएको छ ।
ललितपुरमा माओवादीका दिनेश महर्जन
ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले मेयरमा दिनेश महर्जन दिपेश र उपमेयरमा मन्जली शाक्यलाइ उम्मेदवार बनाएको छ । दिपेश माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् भने शाक्य केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् । ललितपुर महानगरपालिकामा नेकपा माले र केही स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी दर्ता भएको छ । मालेको तर्फबाट मेयरमा मोहनराज शाक्य र उपमेयरमा लक्ष्मी कुमारी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय जनमुक्तिको तर्फबाट रोशन महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
वैशाख ३१ गतेको निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गरिएको हो ।

राजपा सहभागी नहुने 

हालै गठित मधेश केन्द्रीत दलहरुको पार्टी राष्ट्रिय जनता पार्टीले भने पहिलो चरणको निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।
चुनाव हुने प्रदेश र जिल्ला–
प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।
त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्