केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टंकमणि शर्मा महालेखा परीक्षकमा सिफारिस

सहयात्रा टिभी

संवैधानिक परिषद्‍ले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकले शर्माको नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो। सह-सचिव छँदा लामो समय अर्थ मन्त्रालयमा रहेका शर्माले त्यसअन्तर्गतका प्रमुख विभागहरु आन्तरिक राजश्व, राजश्व अनुसन्धान र भन्सार तीनवटै निकायमा महानिर्देशकको रुपमा काम गरेका छन्। सचिव भएपछि सार्वजनिक खरिद अनुगमन र सामान्य प्रशासन मन्त्रालयमा बसेका शर्मा पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा छन्। भानुप्रसाद आचार्यले संवैधानिक अवकास पाएपछि सरकारको अडिट गर्ने संवैधानिक निकाय महालेखा परिक्षक रिक्त थियो। कायम मुकायम महालेखा परिक्षकको रुपमा सुकदेव भट्टराई खत्रीले काम गर्दै आएका थिए। एनसेलले लाभकरको रुपमा तिर्न बाँकी ३२ अर्ब रुपैयाँ भन्दा बढी रकमलाई अर्थमन्त्रालयको बेरुजुमा राखिदिए पछि खत्री चर्चित बनेका छन्। कायम मुकायम प्रमुखको रुपमा खत्रीले देखाएको निर्णय क्षमता शर्माका लागि चुनौती बन्ने भएको छ।  शर्माले संसदीय सुनुवाइ र नियुक्तीको प्रकृया बाँकी रहेको हुँदा अहिले नै आफ्ना कार्ययोजना बारे धेरै टिप्पणी नगर्ने बताए। ‘मुलुकमा आर्थिक अनुशासन अभिवृद्धिको लागि योजना बनाएरै काम गर्नेछु’ उनले भने। परिषद्ले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको थियो। संसदीय सुनुवाई पश्चात बस्न्यात र शर्मा दुवैजनालाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्