केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस र माओवादीबीच चार महानगरमा तालमेल, कार्यकर्ता आक्रोशित 

सहयात्रा टिभी

बैशाख २१, २०७४ । काठमाडौं र ललितपुरसहित बिभिन्न स्थानीय तहमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको सहमति भैरहेकाबेला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल गर्ने सहमति भएको छ । दुइ पार्टीबीच काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने र चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने सहमति भएको छ । सहमतिपछि केही स्थानमा उम्मेदवारी फिर्ताको गृहकार्य भैरहेको छ । काठमाडौंमा कांग्रेसले राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने माओवादीले सर्वोत्तम डंगोललाई मेयर र सुशीला पौडेललाई उपमेयर बनाएको छ । यस्तै भरतपुरमा कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर बनाएको छ भने माओवादीले दाहालकी छोरी रेणु दाहाललाई मेयर र सुरेन्द्र तामाङलाई उपमेयरको उम्मेदवार बनाएको छ । पोखरामा कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर तथा माओवादीले विश्वप्रकाश लामिछानेलाई मेयर र उमा ढकाललाई उपमेयरको उम्मेदवार बनाएको छ ।
चितवनमा प्रदर्शन
कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई कांग्रेसले समर्थन गर्ने भएपछि चितवनका स्थानीय कांग्रेस कार्यकर्ता आक्रोशित भएका हुन । 

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन । भरतपुर महानगरपालिका कांग्रेस बलियो भएका कारण तालमेल गर्न जरुरी नरहेको उनीहरुको भनाइ छ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्