केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस–माओवादी चुनावी तालमेल –उम्मेद्वारी फिर्तादेखि कार्यकर्ताको आक्रोश

सहयात्रा टिभी

बैशाख २१, २०७४ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल गर्ने सहमति भएपछि त्यसको अशर उम्मेदवारी फिर्तादेखि कार्यकर्ताको आक्रोशसम्म पुगेको छ । सहमति अनुसार पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् । लामिछानेले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पोखरा महानगरपालिको मेयरमा कांग्रेसलाई सघाउन माओवादी केन्द्रले शीर्ष स्तरमै सहमति गरेपछि लामिछाने उम्मेदवारी फिर्ता लिन बाध्य भएका हुन । उपमेयरमा भने दुवै पार्टीका आ–आफ्ना उम्मेदवार कायम रहेका छन । पोखरामा कांग्रेसबाट उपमेयरमा सरस्वती गुरुङ र माओवादीबाट गोमा ढकालले उम्मेदवारी दिएकी छिन् । उता, माओवादीसंगको सहमति अनुसार चितवनको भरतपुरमा कांग्रेसले आफनो मेयरका उम्मेदवार दिनेश कोइरालालाई फिर्ता गराएको छ । कृष्ण सिटौला पक्षको विरोधकाबीच कांग्रेसले कोइरालाको उम्मेदवारी फिर्ता गराएको हो । कांग्रेसले निर्वाचन कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिइएको जानकारी गराएको छ । भरतपुरमा कांग्रेसले माओवादी उम्मेद्वार प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाइ सघाउने भएको छ । त्यसअघि माओवादीसंग चुनावी तालमेल गरेको भन्दै कांग्रेस कार्यकर्ताले दिनभर भरतपुरमा प्रदर्शन गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाबिरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्