काठमाडौँमा तीन हजार पाँच सय प्रहरी परिचालन हुने

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ । यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए । उनले भने, काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरी समेत परिचालन गछौँ । नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्युनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताए । काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् ।