केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा देउवाको सम्बोधन: ओलीले गलत आरोप लगाए

सहयात्रा टिभी

काठमाडौ । प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि व्यवस्थापिका संसद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको छ । सम्बोधनको प्रारम्भमै सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीले आफनो सम्बोधनमा झूठा आरोप लगाएको बताउनुभयो । आफू प्रधानमन्त्रीको उम्मेदवारी दिनुको कारण स्पष्ट गर्ने मनस्थितिमा भएपनि अध्यक्ष ओलीले झूठा आरोप लगाएपछि अब जवाफ दिन तयार भएको बताउनु भएको थियो ।
भरतपुर प्रकरणमा कांग्रेसको मौनताबारे ओलीले लगाएको आरोपको जवाफ दिँदै देउवाले निर्वाचन आयोगले काम गरिरहेकाले त्यसमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । मतपत्र च्यात्ने काम विगतमा पनि भएकाले यसलाइ धेरै नउछाल्न उहाँले एमालेलाई सम्झाउनुभयो । भरतपुरको विषयमा अदालतको आदेशलाई मानेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता भइसकेकाले यसमा बहस गरिरहनु नपर्ने उहाँले बताउनुभयो । एमालेले संसद चल्न नदिएकै कारण फिर्ता हुन ढिला भएको उहाँको भनाइ थियो ।
देउवाले ओलीको दाबीको खण्डन गर्दै हुलाकी राजमार्ग एमालेले नभएर गिरिजाप्रसाद कोइरालाले सुरु गरेको जानकारी दिनुभयो । साथै पूर्वपश्चिम राजमार्ग चौडा बनाउने योजना पनि कांग्रेसले नै ल्याएको उहाँले बताउनुभयो । उहाँले असार १४ गते दोस्रो चरणको स्थानीय चुनाव गर्न आफूहरु प्रतिवद्ध रहेकाले शंका नगर्न आग्रह गर्नुभयो । राष्ट्रियताबारे धेरै प्रश्न उठाइएको भन्दै कांग्रेस सभापति देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल सिद्धान्त नै भएकाले यसमा पाठ नसिकाउन चेतावनी दिनुभयो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्