केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चौथो पटक प्रधानमन्त्री वन्न सफल देउवा को हुन् ?

सहयात्रा टिभी

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्नुभएको छ । व्यवस्थापिका संसदको बहुमतले देउवालाइ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । देउवालाई नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायत बिभिन्न साना दलहरुले समर्थन गरेका थिए । निर्वाचनका क्रममा संसदमा कुल ५५८ सांसद उपस्थित हुनुहुन्थ्यो । उपस्थिति संख्या मध्ये देउवाको पक्षमा ३८८ र बिपक्षमा १७० मत परेको थियो ।

यससंगै देउवा चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवाले दोस्रो पटक २०५८ सालमा पुनः मुलुकको जिम्मेवारी सम्हाल्नुभएको थियो । देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको अशिग्राम–५ रुवाखोलामा जन्मिनुभएको हो । उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनु भएको थियो। विद्यालय जिवनवाट नै नेपाली कांग्रेसको राजनीति शुरु गर्नुभएको थियो । एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। यसपछि उहाँ नेविसंघभित्र  राजनीतिमा सक्रिय भएर लाग्नुभयो ।

२०२० सालमा कांग्रेसको राजनीतिमा होमिनुभएका देउवा नेविसंघमा सक्रिय भएर काम गरि विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई सशक्त रुपमा अगाडि बढाउनुभयो। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खट्टाउनु भएको थियो। त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्नुभएको थियो।

२०४८ सालमा डडेल्धुराबाट सांसद जित्नुभएको थियो । सोही आमचुनावबाट २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री वन्नुभएका देउवा २०५२, २०५८ र २०६१ सालमा तीन पटक प्रधानमन्त्री वन्नुभयो । देउवा एकपटक मन्त्री र चारपटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।  २०६४ सालको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी हुनुभयो। २०७० सालको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ६ बाट निर्वाचित हुनुभएको  थियो ।

राजनीतिक घटना सँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही कूु मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा हुनुहुनथ्यो। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन  एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो। नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र ७० वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो। सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो।  प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, फ्रान्स, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ। उहाँ लामो समयदेखि डढेलधुराबाट व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्