केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा स्क्रब टाइफस भेटियो, पूरा डोज एन्टिवायोटिक खाए नीको हुन्छ

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंमा निरन्तर ज्वरो आइरहने स्क्रब टाइफसका एक बिरामी फेला परेका छन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी बाराको गढीमाईकी एक महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । यो केस यो बर्षकै पहिलो भएको अस्पतालले जनाएको छ । लगातार ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने समस्या भएपछि ती महिलालाई अस्पताल पुर्याइएको थियो । लक्षणका आधारमा रगत परीक्षण गर्दा उनमा स्क्रब टाइफसको देखिएको अस्पतालले पुष्टि गरेको छ । उपचारपछि ती महिलाको अवस्थामा सुधार आएको छ ।
यो रोग मुसा, छुचुन्द्रोमा पाइने ‘माइट’ भनिने किर्नाले मानिसमा सार्ने काम गर्छ । यस्ता किर्ना विशेषगरी झार, चौर, घासपात, पुराना काठहरुमा बस्छन् ।
भूकम्पका कारण मानिसहरु सडक किनार वा खुल्ला चौरमा बस्न थालेपछि यसको संक्रमण बढी देखिन थालेको हो ।
निरन्तर ज्वरो आउने यसको मुख्य लक्षण हो । ज्वरोसँगै टाउको दुख्ने, पसिना आउने, थकाई लाग्ने, कमजोर महसुस हुने, खोकी लाग्ने, आँखा वरिपरि दुख्ने, घाँटी वरिपरिका ग्रन्थीहरु सुन्निएर गिर्खा पर्ने लगायतका लक्षण पनि देखिन्छन् । 
यो रोगको सुरुमै उपचार नगरिए ज्यान समेत जान सक्छ । विशेषगरी सास फेर्न गाहे हुने, कलेजो तथा मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा दिमागमा समेत असर हुने गर्छ ।
यदि कुनै विरामीमा स्क्रब टाइफसको संक्रमण भएको शंका लागेमा तुरुन्त उपचार गराइहाल्नु पर्छ । पूरा डोजको एन्टिवायोटिक औषधि प्रयोग गरेमा यो रोग निको हुन्छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्