केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाको चुनाव सार्ने प्रस्ताव सत्तापक्षद्वारा अस्वीकार

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन भन्दा आन्दोलनमा जोड दिइरहेका राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) लाइ निर्वाचनमा ल्याउन सरकारले गरेको प्रयास निरर्थक भएको छ । शनिवार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा राजपाका नेताहरुले असार १४ को चुनाव सार्न प्रस्ताव गरेपछि सत्तारुढ दल निराश भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुले राजपाकै लागि जेठ ३१ गतेको चुनाव असार १४ सारिएको, निर्वाचन बिधेयक संशोधन गरिएको, नमूना दस्तखत बुझाउन समय थपिएको लगायतका काम भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । सत्तापक्षले निर्वाचनको मिति सार्न भने नसकिने स्पष्ट पारेको छ ।
राजपा नेताहरुले यसअघि भएका सहमति अनुसार आफुहरुका माग सम्वोधन गर्न पनि दवाव दिएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्राविधिक बिषयमा कुनै समस्या भए निर्वाचन आयोगसँग छलफल गरेर टुंग्याउन सकिने भएपनि निर्वाचन मिति भने नसर्ने स्पष्ट पारेको जानकारी दिए ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेताको मागमा सहमति जनाउन नसकिने बताउदै वार्ता प्रक्रिया भने जारी राख्ने जानकारी दिए ।
राजपा नेता शरदसिंह भण्डारीले मधेशका मुद्दा सम्वोधन नभएसम्म निर्वाचनमा सहभागी हुने वातावरण नबन्ने धारणा राखेको बताए ।
संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, शहीद घोषणा, घाईतेको उपचार र क्षतिपूर्ति लगायत माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी हुन नसक्ने राजपाको अडान कायमै छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्