केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा बिघटनको संघारमा, चुनावमा नगए पतन

सहयात्रा टिभी

काठमाडौं । निकै तामझामपूर्वक एकीकृत भएको राष्ट्रिय जनता पार्टी (राजपा) बिघटन हुने संकेत फेला परेका छन । राजपा अध्यक्ष मण्डल भित्रै एकले अर्कालाइ नटर्ने स्थिति आएपछि राजपा भित्र चीरा पर्न थालेको हो । एकता घोषणासभा मै माला नलगाइ बसेका महन्थ ठाकुर र अन्तिम समयमा एकता प्रक्रियामा सहभागी भएका अनिल झाको शैलीबाट त्यहीबेला एकतामाथि प्रश्न उठेको थियो । अझ राजकिशोर यादवले एकताको सम्पूर्ण सुत्रधार आफै भएको जस लिन थालेपछि अन्य नेताहरुले त्यसलाइ मन पराएका छैनन । यो बिचमा संविधान संशोधन गरेर निर्वाचनमा जाने वा सरकारले भने जस्तै निर्वाचनपछि संविधान संशोधन गर्ने भन्ने कुरामा उनीहरुबीचमै मतभेद देखिएको छ ।

महन्थ ठाकुर, महेन्द्र यादव लगायतका नेताहरु निर्वाचनमा जाने मनस्थितिमा भएपनि राजकिशोर र राजेन्द्र महतोका कारण उनी खुल्न सकेका छैनन । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारमा बोलाएको वार्तामा पनि उनीहरु सहभागी भएनन । उल्टो सप्तरीको राजबिराज पुगी सरकारलाइ निर्वाचन नगर्न धम्की दिए । असार १४ गते निर्वाचन गरे मुलुक बरवाद हुने चेतावनी महतो र यादवले दिए । उनीहरुकै धम्कीबीच वार्तामा बसेका ठाकुर, शरतसिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले जोखिम मोलेर सहमति गर्ने आँट देखाउन सकेनन ।

उनीहरुलाइ राम्रोसंग थाहा छ, निर्वाचन अघि संविधान संशोधन सम्भव छैन । संशोधन गर्न संसदबाट दुइ तिहाइले पारित गर्नुपर्छ । फेरि निर्वाचन आचारसंहिता जारी भएकाबेला संविधान संशोधन गर्न पाइदैन । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्न रोकेको छ । यस्तोबेला संविधान संशोधन पनि गर, स्थानीय तहको संख्या पनि थप भन्नु कतिको जायज हो ?

राजपा नेताहरुका माग पूरा गर्न हिजोको दाहाल सरकार र आजको देउवा सरकार इमान्दार देखिन्छन । तर, निर्वाचनका कारण उत्पन्न प्राविधिक कठिनाइ, एमालेलाइ सहमतिमा ल्याउनुपर्ने चुनौती, सर्वोच्चको आदेश लगायतका कारणले तत्काल माग पूरा हुन सकेका छैनन । बाँकी मुद्दा फिर्ता लिने, शहीद घोषणा गर्ने, उपचार खर्च दिने लगायतका काम धेरैजसो पूरा भैसकेका छन । त्यसमा पनि उपेन्द्र यादव जो हिजो मधेशी मोर्चाकै एक महत्वपूर्ण घटक थियो, तराइ मधेशको बलियो शक्ति हो, चुनावमा होमिसकेको छ । ठूलादेखि साना सबै दल निर्वाचनमा छन । स्वयं तराईका जनता निर्वाचनका लागि उत्साहित भएका छन ।

यस्तोबेला मुलुकको परिस्थिति नबुझेर ढिपी मात्र गर्नु भनेको नियतमै खोट रहेको प्रष्ट हुन्छ । यसले मुलुकलाइ त केही समय अफ्ठ्यारो पार्छ नै स्वयं राजपाको बिभाजन र अन्ततः यसको पतन पनि अवश्यम्भावी छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्