केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपालाई प्रयोग गरी चुनाव सारियो : एमाले महासचिव ईश्वर पोखरेल

सहयात्रा टिभी

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले राष्ट्रिय जनता दल (राजपा) लाई प्रयोग गरी प्रदेश २ को चुनाव सारिएको खुलासा गरेका छन् । प्रेस चौतारी नेपालले शुक्रवार आयोजना गरेको अन्तर सम्वादमा बोल्दै महासचिव पोखरेलले चुनावमा नराम्रोसँग पराजित हुने निश्चित भएपछि कांग्रेसले राजपालाई प्रयोग गरी प्रदेश २ को निर्वाचत मिति सारेको तथ्य राखेका हुन ।
‘कसैले भ्रम नपाल्नोस चुनाव सार्ने काम राष्ट्रिय जनता पार्टीले गरेको होइन, उस्लाई प्रयोग गरेर कांग्रेसले चुनाव सारेको हो, राजपा त प्रयोग मात्रै भयो । पोखरेलले तराई मधेसमा आफ्नो अवस्था निकै कमजोर बनेपछि सुधार गर्न र तराई मधेसका जनतालाई दोस्रो दर्जाका नागरिक हुन भन्ने देखाउनका लागि प्रदेश २ को चुनाव सारिएको हो ।
एमाले महासचिव पोखरेलले केही दिन अघि मात्र कांग्रेसले आफू निकटका मधेसका सांसद् र नेताहरुलाई बोलाएर चुनाव सार्ने डिजाइन बनाएको र सोहीअनुसार राजपालाई देखाएर चुनाव सारेको प्रष्ट पारे । राजपा कांग्रेसको डिजाइनमा नराम्रोसँग फस्यो, नेकपा माओवादी केन्द्र पनि कांग्रेसकै डिजाइनमा फस्न पुग्यो, चुनाव सार्ने योजनाकार कांग्रेस नै हो, पोखरेलले भने, ‘राजपालाई देखाएर कांग्रेसले चुनाव सारेको हो । त्यसमा माओवादीको हात छ कि छैन, त्यो बेग्लै कुरा भयो ।’ पोखरेलका अनुसार कांग्रेसले मधेसमा हार्ने निश्चित भएपछि आफ्नो प्रभाव बढाउन चुनाव सार्ने डिजाइन गरेको हो ।
एमाले अब जनताको बीचमा जान्छ
महासचिव पोखरेलले २ नम्बर प्रदेशमा चुनाव सारिएको विषयलाई जनताको बीचमा लैजाने र दोस्रो चरणको चुनावमा यसलाई सत्तापक्षको बेइमानीको रुपमा भण्डाफोर गर्ने बताए । ‘एमालेले तेस्रो चरणको निर्वाचनमा भाग लिन्छ कि लिदैँन भन्ने प्रश्न उठ्न सक्छ,’ पोखरेलले भने, ‘पटक–पटक निर्वाचन सार्ने काम सत्ता पक्षले किन गरिरहेको छ भनेर मधेशका जनताका बीचमा जान्छौं । उनीहरुलाई किन मतदानको अधिकारबाट बञ्चित गरियो भन्दै भण्डाफोर गर्छांै ।’ उनले असोजमा चुनाव सार्नु भनेको चुनाव नगराउने षड्यन्त्र भएको भन्दै मधेशका जनतालाई सत्तापक्ष विरुद्ध उतार्ने चेतावनी पनि दिए । चुनाव सार्दा दूरगामी असर पर्छ,’ उनले भने, ‘यसरी निर्वाचन सार्दा प्रदेश र केन्द्रीय निर्वाचनमा पनि असर पुग्छ ।
संसदको आयू थप्ने कुरा मञ्जुर छैन
महासचिव पोखरेलले निर्वाचन सार्दा एमालेसँग मात्र नभई निर्वाचन आयोगसँग समेत सल्लाह नगरेको भन्दै संसदको म्याद थप्ने षड्यन्त्रले त्यसो गरेको हुन सक्ने आशंका व्यक्त गरे । ‘जननिर्वाचित संस्थालाई भंग गर्ने इतिहास बनाएका ब्यक्तिहरु अहिले सत्ताको नेतृत्वमा छन् । त्यसैले उनीहरुले त्यो प्रयास नगर्लान भन्न सकिन्न,’ उनले भने, ‘एमाले त्यसमा सजग छ । कुनै पनि हालतमा त्यो प्रयास सफल हुन दिदैन ।’
दोस्रो चरणमा पनि एमाले पहिलो
उनले पहिलो चरणमा तीन प्रदेशमा भएको निर्वाचनमा एमाले पहिलो भएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो नै हुने दाबी गरे । ‘एमालेले दोस्रो चरणको चुनावमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछ,’ उनले भने, ‘हामीले बिभिन्न रिपोर्ट र हाम्रो शक्तिको आधारमा भनेका छौं, दोस्रो चरणमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछौं, अवष्य बहुमत प्राप्त गर्छौं ।’
विराटनगरमा तालमेल हुन्छ
दोस्रो चरणमा हुने तीन प्रदेशमा रहेको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा तालमेल हुने संकेत गरेका छन् । ‘हामीले. अहिले त्यहाँ मेयर मात्र तोकेका छौँ,’ उनले भने, ‘त्यसले पनि थाहा हुन्छ । एमाले त्यहाँ तालमेल गर्न चाहन्छ ।’ उपेन्द्र यादवको संघीय फोरमसँग तालमेल हुन सक्ने सम्भावना कत्तिको छ भनी सोधेको प्रश्नमा उनले भने, ‘तालमेलको ढोका खुला राख्नकै लागि उपमेयर उम्मेदवार नउठाइएको हो । कुन पार्टीसँग तालमेल गर्ने भन्ने टुंगो लोगेको छैन । कसैसँग गर्यौँ भने तपाईंहरुलाई थाहा भैहाल्छ नि ?’
उनले एमाले देशभरी आफ्नै सामथ्र्यमा चुनाव लड्न सक्ने भएको भन्दै सत्ताधारीहरुले देशभर गठबन्धन गरिरहेका बेला विराटनगरमा तालमेलको सम्भवना हुनुलाई अनौठौ मान्नु नुहुने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चुनाव सार्दै जाने शैलि आपत्तिजनक भएको भन्दै प्रदेश २ का जनतालाई मात्रै मतदानको अधिकारबाट बञ्चित गराउन खोज्ने सरकारको शैलीको भण्डाफोर जरुरी रहेको बताए । उनले मुलुकमा दुई राष्ट्रियता कायम रहेको देखाई संमृद्धिको यात्रा रोक्न यस्तो षडयन्त्र भएकोले तराई मधेसका जनतालाई सजक बनाउनुपर्ने सुझाव राखे । प्रेस चौतारीले दोस्रो चरणको निर्वाचनका क्रममा अन्तरसंवाद कार्यक्रम जारी राख्ने जानकारी दिएको छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्