केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चमा भरतपुर वडा नम्बर १९ को सुनुवाई शुरु

सहयात्रा टिभी

भरतपुर । चितवनको भरतपुर वडा न. १९ मा पुनः मतदान गराउने विषयलाई लिएर निर्वाचन आयोगको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई शुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको वेन्चमा बहस शुरु भएको हो । मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज भएको हो ।

मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । अदालतमा दायर गरिएको रिटको सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको पुनः निर्वाचन हुने वा पुनः मतगणना हुने भन्ने वारे केहि ठोस निष्कर्ष आउन सकेको छैन । भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुन भने ज्ञवाली एमालेका उम्मेदवार हुन । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए ।

चितवनको भरतपुरमा मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्नुपर्ने निर्णय अघि सारेको थियो ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्