निर्वाचन आयोगको पत्रकार सम्मेलन, निर्धक्क भएर मताधिकार प्रयोग गर्न आयोगद्धारा आह्वान

काठमाडौं । स्थानीय तह दोस्रो चरणको चुनाव अन्तर्गत आषाढ १४ गते हुने मतदानको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको अघिल्लो दिन मंगलबार आयोगको केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले उत्साहपूर्वक मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आयोगले वुधवार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।
यस्तै, चुनावमा दृष्टिबिहीन तथा शारीरिक रुपमा अपांगता भएका र आफ्नो मत दिन नसक्ने व्यक्तिले पनि सहज मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगले सम्पूर्ण निर्वाचन अधिकृतलाई निर्देशन दिईसकेको छ । दृष्टिविहिन वा शारीरिक रुपले अशक्त भएको कारणले आफै मतसंकेत गर्न नसक्ने मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य कक्षमा आफूसँगै लैजान अनुमति मागेमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३८ एवम् स्थानीय तह निर्वाचन निर्दे्शिका, २०७३ को दफा ८३ को उपदफा (१) र (२) मा भएको व्यवस्था अनुरुप सहयोग उपलब्ध गराउने निर्णय निर्वाचन आयोगले गरेको हो ।
यस्तै, वर्षातको समय भएको र मौसम पूर्वानुमान महाशाखाले पनि पानी पर्ने सूचना दिईसकेकोले पनि चुनावका दिन पानी पर्ने संभावना भएकोले मतदाताको हात भिजेको हुनसक्ने र भिजेको हातले मतपत्र समात्दा मतपत्र समेत भिज्ने हुन सक्ने भएकोले मतदाताले राम्रोसँग हात पुछेपछि मात्र मतपत्र दिने व्यवस्था मिलाउन पनि निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र नभएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा भए पनि मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।