केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अविरल वर्षाका कारण बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण, सतर्क रहन आग्रह

सहयात्रा टिभी

काठमाडौं । केहि दिनदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ भने २० जना भन्दा वढी बेपत्ता भएका छन् । लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् भने पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी शनिबार सुनसरीमा सात जनाको मृत्यु भएको छ भने झापा र सिन्धुली तथा बाँकेमा चार(चार जनाको ज्यान गएको छ । पाँचथर, मोरङमा तीन-तीन जनाले ज्यान गुमाएका छन् भने सर्लाही, बारा, दाङ, पाल्पा र बर्दियामा एक-एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले उद्धारका लागि मन्त्रालय तयारी अवस्थामा रहेको र उद्धारको कार्य भईरहेको जनाएको छ ।

तराई क्षेत्रका सहर विराटनगर, इटहरी, विर्तामोड, भद्रपुर, इनरुवा, राजविराज, जनकपुर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्जसहित सहर जलमग्न भएका छन् । तराई क्षेत्रका अधिकांश विमानस्थल जलमग्न भएका कारण हवाई उडान रोकिएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको बूढीखोलामा ठूलो बाढी आएपछि खोला किनारमा बसोबास गर्ने सुकुम्बासी टोलका बासिन्दाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीकै मलिकटोल र गैरीगाउँका हुन् । पहिरोले घर पुरिँदा मोरङको लेटाङ नगरपालिका-१ मा शनिबार बिहान ४० वर्षीय गोपीमाया तामाङको मृत्यु भएको छ । घरमै रहेका गोपीमायाका सासू ९० वर्षीय टुलकीमाया, पति ५० वर्षीय टंक र १० वर्षीय छोरीलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् । त्यस्तै, लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका-९ कुसुमेका ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । नुनसरी बक्राहा खोलामा आएको बाढीले बगाएर मिक्लाजुङ-२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्यु भएको छ ।

मोरङकै सुन्दरहरैंचा नगरपालिका-४ स्थित बूढीखोलामा आएको बाढीले बगाएर तीन वृद्धा बेपत्ता भएको भनिए पनि प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार सुन्दरहरैंचा-४ की ६३ वर्षीय सावित्रा थापा मगर, संखुवासभा मादीकी ६३ लीला दाहाल र झापा झिलझिलेका ८० वर्षीय गोविन्द कार्कीलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

झापाका अधिकांश क्षेत्र डुबानका छन् । शनिबार राति ९ बजे मैनाचुलीमा कन्काई नदीको जलसतह ५.५ मिलिमिटर पुगेको थियो । ४.२ खतराको स्तर हो । कोरोबारी, कुमरखोद, पाठामारी, विर्तामोड, अर्जुनधारा, शनिश्चरेलगायत क्षेत्र डुबानमा परेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । शिवसताक्षी नगरपालिका-१ का २८ वर्षीय लेखनाथ न्यौपाने (विजय) झिल्झिले खोलाले बगाएर बेपत्ता भएका छन् । शिवगन्ज गएर फर्कंदै गर्दा उनलाई खोलाले बगाएको हो ।

पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका-६ मा एकै परिवारका चार जनाको ज्यान लिएको छ । पत्रकार महासंघको जग्गामा टहरो बनाएर बसेका चार जनाको पहिरोले पुर्दा मृत्यु भएको हो ।
शनिबार बिहान २ बजे झरेको पहिरोले सुतिरहेका चार जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा दुर्गाकुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनीष खड्का रहेका छन् । सँगै सुतेका उद्यबहादुर खड्का भने भागेर बच्न सफल भएका थिए ।

बाँकेमा एकैघरका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । राप्ती नदीको बाढी राप्ती सोनारी गाउँपालिकामा कविराज थारूको घर बाढी पसेर भत्कँदा उनका १२ वर्षीया छोरी अञ्जु, ९ वर्षीया छोरी सरिता र ७ वर्षकी सुस्मिताको मृत्यु भएको छ । प्रहरीले अर्काे एक जना परिचय नखुलेको पुरुषको शव फेला पारेको छ ।

बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा पहिरो गएको छ । दाउन्नेमा सडक भासिएपछि अवरुद्ध सडक खुल्न समय लाग्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । बर्दघाट नजिकको एसमोडको सडक करिब ३५ मिटर ओरालोमा भासिएको छ । ट्र्याक खोल्न दुई वटा डोजर र जेसिभी प्रयोग गरिएको छ ।
नयाँ ट्र्याक बनाए पनि दुम्किवासको घ्यूखोलामा लगातार पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा आउन सक्ने सम्भावना कम रहेको रानाले बताए ।

उद्धारको प्रयास विफल
रौतहटको देवाहीगोनाही गाउँपालिका जोहरटोलमा एक सय ५० जनाभन्दा बढी मानिस बाढीको बीचमा फसेका छन् । लालबकैया नदीमा आएको बाढीले देवाहीगोनाही गाउँपालिका-२ को करुनियाघाटमा करिब सय मिटर बाँध भत्किएपछि नदीको भंगालोले जोहरटोललाई सम्पर्क्विच्छेद भएको छ । उनीहरूको उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली साँझसम्म पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीको टोली बीचैमा रोकिएको छ । नेपाली सेनासहित उद्धार गर्न गएको टोली बाढी ठूलो भएकाले घटनास्थलसम्म पुग्न नसकेको हो । उद्धारका लागि गएको ११ जनाको अर्को टोली पनि देवाहीगोनाही-९ मा फसेको छ । रौतहटका प्रजिअ उद्धवबहादुर थापाले उनीहरूको उद्धार गर्न नसकिएको जानकारी दिँदै हेलिकोप्टर माग गरिए पनि पानी परिरहेकाले हेलिकोप्टर आउन नसकेको जनाए ।लालबकैया नदीको बाँध फुटेर बाढी आएको छ । मानिस अग्लो घरमा उद्धारको प्रतीक्षामा बसिरहेको शुकदेवचोक प्रहरी चौकी असइ सञ्जय शर्माले जानकारी दिए ।

यस्तै बर्दियामा अबिरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढेपछि बबई र भादा नदी किनारका बस्तीमा बाढीको खतरा बढेको छ । बबईमा बाढी खतराको संकेत नाघेर बढेको भए पनि पानीको सतह मापनस्थल चेपाङ्गमा अहिले बाढी घट्दो छ तर भादा नदीमा बाढी बढेको छ ।
भादा पुलदेखि पूर्वतर्फ सदरमुकाम गुलरीया नेपालगंज सडकमा बाढी आइसकेकाले सवारी साधन ओहोरदोहोर अबरुद्ध भएको छ । बबई नदीको पानीको सतह मापन केन्द्र चेपाङ्गमा बाढी घटदै गए पनि अझै पनि नदीमा पानीको सतह खतराको लेभर भन्दामाथि पुगेको छ । भादा नदीमा बाढी आएपछि सदरमुकाम गुलरियाका बासिन्दा त्रसित छन् ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्