केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वी र मध्य तराईमा विद्युत सेवा अवरुद्धः जनजीवन झनै कष्टपूर्ण बन्दै

सहयात्रा टिभी

काठमाडौं । लगातारको अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण बाढीग्रस्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानमा प्राधिकरणको संरचनाको क्षति झण्डै दुई अर्ब रुपैयाँको हाराहारीमा भएको देखाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसन अन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइन अन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । उता हेटौंडा सबस्टेसन अन्तर्गतको हेटौंडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले यो औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ ।

त्यस्तै, चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ । प्राधिकरणका अनुसार लहान सबस्टेसन अन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । यो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ ।
ढल्केबर सबस्टेसन अन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । उता, चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ ।

प्राधिकरणका अनुसार शिवपुर सबस्टेसन अन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । यो आयोजनाबाट अहिले १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत उत्पादन भइरहेको छ । त्यस्तै, मध्य–मर्स्याङ्दी जलविद्युत आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । यो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मर्स्याङ्दी जलविद्युत आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेको छ । बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात÷सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ ।

त्यस्तै, भारतबाट आयात हुने विद्युत लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत आयात भइरहेको छ । यस्तै, बिहार र टनकपुरबाट हुने आयात हुने विद्युतसमेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा एक करोड २० लाख रुपैयाँ भन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । तराईका बाढीग्रस्त क्षेत्रमा मात्रै नभएर काठमाडौंका केही फिडरमा समेत समस्या पैदा भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : 14 August, 2017

प्रतिक्रिया दिनुहोस्