केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ उपप्रधानमन्त्री सहित २१ जनाको उच्चस्तरीय टोली काठमाडौंमा

सहयात्रा टिभी

काठमाडौ । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमार्फत नेपाल आईपुगेको हो । चिनियाँ उपप्रधानमन्त्री याङलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री जितेन्द्र देवले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा अवतरण लगत्तै उनलाई सिधै होटल सोल्टीतर्फ लगिएको छ । काठमाडौं बसाइको तीन रात उनले सोही होटलमा बिताउने छन् ।

चीनबाट नेपालमा करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो । तर नेपालबाट भने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री तहको उच्चस्तरीय भ्रमण चीनमा भने भईरहेको छ । उच्चस्तरीय टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जनाको टोली नेपाल आएको हो । उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन वाङले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भ्रमण गर्ने पनि कार्यतालिका रहेको छ । बिहीबार सो टोली स्वदेश फर्किने कार्यक्रम छ ।

बेल्ट एन्ड रोड कार्यान्वयनमा छलफल हुने
चीनको बेल्ट एन्ड रोड अवधारणाभित्र रही सहकार्य अघि बढाउन भएको नेपाल चीन सहमतिको प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल हुने र चीनसँग भएका पारवहन लगायत विभिन्न १० सम्झौता कार्यान्वयन सम्बन्धमा पनि छलफल हुने विशेष स्रोतले बताएको छ ।

प्रकाशित : 14 August, 2017

प्रतिक्रिया दिनुहोस्