केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच शिष्टाचार भेट

सहयात्रा टिभी

भारत । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गर्नुभयो । प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले शनिबार साँझ भेटवार्ता गर्नुभएको हो । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा आजै साँझ आन्ध्र प्रदेशबाट बिहार आइपुग्नुभएको हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पुर्‍याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिनुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।

भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालले हालै भारतसँग गरेका ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा सहजीकरण गरिदिनुभएकामा मुख्यमन्त्री नितिश कुमारलाई धन्यवाद दिनुभएको थियो ।

भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले दिनुभएको जानकारी अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ । ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ ।

भेटवार्तामा प्रधानमन्त्री देउवा, पर्यटन मन्त्री देव, परराष्ट्र सचिव वैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवा शनिबार उहाँको सम्मानमा मुख्यमन्त्री नितिश कुमारले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभयो ।

प्रधानमन्त्री देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जानुुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

प्रकाशित : 27 August, 2017

प्रतिक्रिया दिनुहोस्