केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक सातादेखि बुद्ध जन्मस्थल लुम्बिनी अन्धकार

सहयात्रा टिभी

लुम्बिनी । विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु¥याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ ।
लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभिएको ट्रान्सफर्मरबाट आठ एमभिए विद्युत् वितरण हुँदै आएको थियो । ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पड्किएको थियो । ट्रान्सफर्मर पड्किएलगत्तै अर्को ट्रान्सफर्मर जडान नहुँदा लामो समय लुम्बिनी बिजुलीविहीन बनेको छ ।
बिजुली नहँुदा पर्यटकीय क्षेत्र अस्तव्यस्त बनेको र लुम्बिनीको सौन्दर्यतासमेत हराएको पर्यटन व्यवसायी प्रकाश भट्टराईको भनाइ छ । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले लुम्बिनीमा दीर्घकालीन रुपमा विद्युत्भार कटौतीमुक्त गर्न १६ एमभिएको ट्रान्सफर्मर आवश्यक रहेको र उक्त ट्रान्सफर्मर जडानका लागि पहल शुरु गरिएको बताउनुभयो । ‘१६ एमभिएको ट्रान्सफर्मर जडानका लागि प्रक्रिया अगाडि बढाएका छौं’ उहाँले भन्नुभयो, ‘उक्त ट्रान्सफर्मर जडान हुनका लागि कम्तीमा ६ महिनादेखि १ वर्षसम्म लाग्ने अनुमान गरेका छौँ ।’
तत्काललाई समस्या समाधान गर्न ७ दशमलव ५ एमभिएको ट्रान्सफर्मर जडान गर्न लागिएको उहाँले बताउनुभयो । लुम्बिनी क्षेत्रमा हाल १८ हजार विद्युत्का ग्राहक छन् । लुम्बिनीको ट्रान्सफर्मर जलेपछि हाल रुद्रपुर क्षेत्रमा अमुवा र कक्रहवा क्षेत्रतर्फ मर्चवारबाट बिजुली दिइएको छ । लुम्बिनीमा कपिलवस्तुबाट बिजुली दिइएको छ । कपिलवस्तुले दिउँसोमा मात्र बिजुली दिएकाले साँझदेखि बिहानसम्म लुम्बिनीका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा विद्युत् छैन । जसका कारण रातिको समयमा लुम्बिनी घुम्न मन पराउने पर्यटकलाई खल्लो महसुस गरेको पर्यटक व्यवसायीले गुनासो गरेका छन् । पर्याप्त विद्युत्को व्यवस्था नहुँदा लुम्बिनी विकास कोषको नियमित काममा समेत समस्या उब्जिएको कोष प्रशासनले जनाएको छ । रासस

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्