नागोया अभिसन्धि संसदबाट पारित

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका–संसदको सोमबारको बैठकले नागोया अभिसन्धि अनुमोदन गरेको छ । यो अभिसन्धि पारित भएसँगै जैविक विविधता महासन्धिका तीन उद्देश्यमध्ये तेस्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड प्राप्त गर्न सहज हुनेछ ।
यो अभिसन्धिसँग सम्बन्धित विषय कार्यान्वयन गर्न सन् २९ अक्टोबर २०१० मा नागोया अभिसन्धि अनुमोदन भई १२ अक्टोबर २०१४ मा कार्यान्वयनमा आएको थियो ।
अहिले यो अभिसन्धिलाई ९२ राष्ट्रले हस्ताक्षर गरेको तथा १०० राष्ट्रले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् । नेपालले सन् १९९४ फेबु्रअरी २९ मा जैविक विविधता महासन्धिको पक्ष राष्ट्रको रुपमा काम गर्दै आएको छ ।
अभिसन्धि अनुमोदनपछि नेपालबाट उत्पादन हुने जैविक स्रोत र तिनका आनुवंशिक स्रोतमा नेपाल र नेपाली जनताको पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटमा अधिकार स्थापना गर्न ठूलो योगदान पुग्नेछ ।
त्यस्तै जैविक विविधता संरक्षण गर्न तथा स्थानीय समुदायको प्राकृतिक स्रोतमाथि पहुँच बढ्ने र लाभ बाँडफाँटमा सम्झौता गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि हुने जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकाल जानकारी दिनुभयो । नेपाल नागोया अभिसन्धि अनुमोदन गर्ने विश्वको १०१औँ राष्ट्र बनेको छ । रासस

प्रकाशित : 5 September, 2017

प्रतिक्रिया दिनुहोस्