केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँच वर्षकी बालिका जो हवाई आक्रमणमा परेर पनि बाँच्न सफल भएकी थिइन्

सहयात्रा टिभी

एजेन्सी । बुथैना मुहम्मद मन्सुर अल रइमी यमनको राजधानी सानामा अगस्ट २५ मा भएको हवाई आक्रमणमा ध्वस्त भवनमा परेर बाँच्न सफल भएकी थिइन् । परिवारमा उनी मात्रै बाँच्न सफल भएकी थिइन् । आक्रमणमा बुथैनाको आमाबुवासहित सातजनाको ज्यान गएको थियो ।
यमनको अस्पतालको एउटा कोठामा पाँच वर्षकी बालिका बुथैनाका सुभेच्छुक गीत गाइरहेका छन, गितार बजाइरहेका छन् । उनी मुस्कुराउँछिन् । उनका आँखाबाट आँसु बग्न सुरु हुन्छ । उनले आफ्नो ड्रइङ पेन्सिल उठाउँछिन् र आफ्नो परिवारका सदस्यको स्केच बनाउन थाल्छिन् । बुथैना अहिले आफ्ना काका र काकीको हेरचाहमा छिन् । तर उनलाई यो थाहा छैन । उनका आफन्त र डाक्टर पनि यो कुरा उनलाई सुनाएका छैनन् । उनले आफूले आमाबुवा गुमाएको पनि थाहा पाएकी छैनन् ।

उनी नाटकीय रुपमा बाँच्न सफल भएकी थिइन् । ध्वस्त भवनको भग्नावशेषबाट उनलाई उद्धार गरिएको थियो । उनका दुबै आँखा गहिरो चोटका कारण बन्द भएका थिए ।
घटना लगत्तै, स्थानीय सञ्चार माध्यमले अस्पतालकै बेडमा उनको अन्तर्वार्ता लिन खोजेका थिए । बुथैनाले एउटा हातको सहाराले आफ्नो आँखाको परेला उघार्न खोज्दै थिइन् । उनलाई सायदै थाहा थियो होला, उनको त्यो हेराईले विश्वले यमनलाई हेर्ने दृष्टिकोण बन्छ ।
यो तस्बिर सामाजिक सञ्जालमा एउटा अभियानकै रुपमा पनि चल्यो । जसले यमनमा उत्पन्न मानवीय संकटको बारेमा उजागर गरेको छ । विभिन्न ह्यासट्याग राखेर बुथैनाको तस्बिरसहित हजारौंको संख्याका ट्वीट गरेका छन् ।
टाउकोमा गम्भीर चोट
अस्पतालको कोठामा बुथैना आफन्त र शुभचिन्तकहरुले घेरिएकी थिइन् । कोठाको भित्ताहरु बेलुन र बालबालिकाका ड्रइङले रंगिएको थियो । डाक्टरहरुका अनुसार बुथैनाको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरका धेरै भागमा चोट लागेको थियो । उनका काकाले अस्पतालबाट कहिले डिस्चार्ज भइन्छ भन्ने थाहा नभएको बताए ।

बुथैनाकी काकाकी सानी छोरी खेलौना लिएर उनलाई भुलाउन खोज्छिन् । घुम्रिएको कपालमा बुथैना सबैको बिचमा बसेकी छिन् । ‘उनले परिवारका सबै सदस्य गुमाइन् । उनीहरु बितेको दश दिन भैसक्यो । उनले अझै आमाबुवा कहिले आउनेछन् भनेर सोधिराख्छिन्’, अस्पतालका आकस्मिक विभागका प्रमुख यासेर अल घोरीले सिएनएनलाई बताए ।

‘म बुथैनाको बुवा हुन त सक्दिन । तर उनी सधैँ मेरी छोरी रहनेछिन् । मलाई लाग्छ हामीलाई पुगेको क्षतिले तीन वर्ष लामो युद्ध समाप्त हुनेछ’, बुथैनाका काका अली अल रइमीले भने ।
सन् २०१५ को मार्च यता यमनमा भण्डै १३ हजारको ज्यान गएको संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले जनाएको छ । मध्य रातमा बुथैना निदबाट ब्युँझिन र दुखाईले रुन थालिन् । ‘बुथैना र मेरी छोरी सुमाया उस्तै हुन् । मेरो प्राथमिकतामा बुथैना नै पर्द्छिन्’, बुथैनाकी काकी समाह अल रइमीले बताइन् ।
यमनको वास्तविकतालाई बुथैनाको पीडाले विश्वसामु प्रस्तुत गर्ने उनका समर्थकहरु बताउँछन् । लामो समयसम्म विश्वले बेवास्ता गरेको यमनको द्वन्दलाई बुथैनाको पीडाले सम्बोधन गर्न बाध्य पार्ने धेरैको विश्वास रहेको छ ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्