केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आचारसंहिताले सरकारलाई अप्ठ्यारो परेको छैन : प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठ्यारो नपरेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठ्यारो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवासमक्ष पत्रकारको जिज्ञासामा उहाँले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गर्नुभएको छ । रासस

प्रकाशित : 12 September, 2017

प्रतिक्रिया दिनुहोस्