एसिसी यू–१९ : भुटानमाथि नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भुटानलाई ९ विकेटले पराजित गर्दै लगातार दुई जित निकालको नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालले जवाफी ब्याटिङ थालेको ३० मिनेटमै जित हात पारेको हो।

नेपालको जितमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे । आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ओपनर सन्दीप सुनार २१ रन जोडेर आउट भए । उनले २६ बलमा ३ चौका प्रहार गरे।

यसअघि मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भयो । भुटानको इनिङ ध्वस्त पार्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिए।

भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके। दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए । सन्दीपले ३ ओभर मेडन फ्याँके । भुटानले ३ वटा मात्र चौका प्रहार गर्न सक्यो।

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो । थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो । अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए । बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो।

समूह ‘ए’मा रहेको नेपालले बिहीबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई पराजित गरिसकेको छ।

प्रकाशित : 13 September, 2017

प्रतिक्रिया दिनुहोस्