केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आचारसंहिता उल्लघंन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनाव अन्तर्गत प्रदेश नम्बर २ मा हुन गइरहेको चुनावको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको चुनाव चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले यस्तो कार्य आचारसंहिताविपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय आचारसंहिता विपरीतको भएको भन्दै आयोगले कांग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते कांग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्‍यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले र्‍यालीका आयोजकलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको जनाएको छ ।

यसैबिच आयोगले स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा आचासंहिताविपरीतका कार्य भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न प्रमुख सात राजनीतिक दलसँग आग्रह गरेको छ । आयोगले बुधबार कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्नरगराउन आग्रह गरेको हो । रासस

प्रकाशित : 14 September, 2017

प्रतिक्रिया दिनुहोस्