केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनुषामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सहयात्रा टिभी

धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकताबीच झडप कम्तिमा १० जना घाइते भएका छन् । झडपमा एमालेका स्थानीय कार्यकर्ता इन्द्रकुमार पासवान र अर्विन्द्र पासवान घाइते भएका छन् स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् ।

शनिबार राति करिब १२ बजे चुनावी विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको हो । दुवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ ।
मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका एमाले कार्यकर्ताहरुले घरमा आक्रमण गरेको आरोप लगाएका छन् ।

सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरुले आफ्नो घरमा आक्रमण गरेको यादवले बताउनुभयो । मदिरा सेवन गरेर पुगेका उनीहरुले घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको यादवको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले रातीको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बताउँदै आक्रमणकारीहरुले घर परिसर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड गरेको उम्मेदवार यादवले बताउनुभयो ।

घटनालाई लिएर दुवै दलले एकअर्कालाई आरोप लगाएका छन् । नेपाली कांग्रेसले प्रहरी मुक दर्शक बनेको भन्दै आपत्ति जनाएको छ भने एमालले कांग्रेसले राज्य आतंक मच्चाएको आरोप लगाएको छ ।

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्