सर्लाहीमा ११६ वर्षीय वृद्धले गरे मतदान, १० बजे अघि १५ प्रतिशत मतदान

सहयात्रा टिभी

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ : ०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

सो प्रदेशका केही मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार, बिहान १० बजेसम्ममा १५ प्रतिशत मतदान भइसकेको छ । मतदान कार्य साँझ ५ : ०० बजेसम्म जारी रहनेछ ।

प्रकाशित : 18 September, 2017

प्रतिक्रिया दिनुहोस्