केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नं. २ मा दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

सहयात्रा टिभी

काठमाडौँ । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९ः३० बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ ।

आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र)ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी हुनुभएको छ भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी हुनुभएको छ ।

अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी हुुनुभएको छ भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी हुनुभएको छ ।

मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा जित हात पारेको छ ।

यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी हुनुभएको छ ।

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी हुनुभएको छ । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी हुनुभएको छ । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी हुनुभएको छ ।

यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा विजय हासिल गरेको छ ।

औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी हुनुभएको छ भने भगवानपुर गाउँपालिका–१ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी हुनुभएको छ ।

यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी हुनुभएको छ । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको थियो ।

सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका–१ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामती विजयी हुनुभएको छ ।

त्यसैगरी, विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य आज बिहानदेखि पुनः सुचारु भएको छ ।

निर्वाचन अधिकृत र दलका प्रतिनिधिबीच विवाद भएका वडाका खोलिएका मतपत्रलाई पुनः गणना गर्न सिलबन्दी गर्ने र अरु बाँकी वडाको मतगणना अगाडि बढाउने सहमति भएपछि बिहान ६ बजेदेखि सुचारु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो ।

लहान नगरपालिका–३ को मतगणनाको क्रममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य मंगलबार दिउँसो २ बजेदेखि मतगणना कार्य अवरुद्ध भएको थियो ।

लहान नगरपालिकाको हालसम्मको मत परिणामअनुसार नेकपा (एमाले) ले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

राजविराज । सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ ।

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ ।

गोइतले २४२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता (यादव)ले ११० मत प्राप्त गर्नुभएको छ ।

राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ ।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ ।

हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोलि असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गर्नुभएको छ ।

सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ ।

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याउनुभएको छ ।

यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

महोत्तरीमा राजपाले खाता खोल्यो

यसैबीच, महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ ।

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ ।

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उहाँले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गर्नुभएको छ । महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहनुभएको छ ।

भंगहा— १ मा माओवादी केन्द्रको प्यानलै विजयी

यसैगरी, महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याउनुभएको छ ।

भंगहा–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्