केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्न निर्वाचन आयोगको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ ।

हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउनसक्ने जनाउँदै आयोगले त्यसप्रकारका गतिविधि नगर्न आग्रह गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ– “मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सिलसिलामा आचारसंहिता लागू भइरहेको छ, विजयादशमी, दीपावली तथा छठजस्ता चाडको उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्नेछ ।”

सार्वजनिकरूपमा सार्वजनिक स्थानमा यसप्रकारका चियापान समारोह तथा भोजभतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई उक्त कुराको जानकारी गराउने निर्णयसमेत गरेको छ । रासस

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्