सभामुखदेखि सांसदसम्म सवै उदासिन : सभामुखलाई विदेश यात्राको चटारो, महत्वपूर्ण विधेयक अलपत्र

सहयात्रा टिभी

काठमाडौं । संसदको समयावधि कात्तिक ४ गते सकिदैछ । अर्थात संसदको अवधि सकिन अव २५ दिन मात्रै बाँकी छ । संसदको समयावधि जति छोटिदैछ त्यतिनै सांसद र दलहरु महत्वपूर्ण विधेयक पारित गर्न उदासिन देखिएका छन् । संसदको म्याद कात्तिक ४ गते सकिने र यही बिचमा दसैँ तिहार जस्ता मुख्य चाड पर्ने भएकाले बांकी समय सकिन त्यसै गुज्रने जस्तै देखिएको छ । यहि विचमा सभामुख ओनसरी घर्तीको लामो विदेश भ्रमण जस्ता कुराले झनैे गैह्र जिम्मेवारीपन देखिएको कतिपयको वुझाई छ ।

सोमबार एकै दिन १० वटा विधेयक पारित गर्ने तयारी गरिए पनि गणपुरक संख्या नपुग्दा जम्मा तीनवटा मात्र विधेयक पारित भएको छ । गणपुरक संख्या नपुग्दा संसद सूचना टाँसेर असोज २० गतेसम्मका लागि स्थगित गरिएको छ । अब फेरि पुर्णिमाको भोलिपल्ट २० गते बैठक बोलाइए पनि दसैँ मनाउन जिल्ला पुगेका सांसदहरु काठमाडौं फर्किन नसक्ने हुनाले त्यस दिन पनि सोमबार जस्तै गणपुरक संख्याका कारण बैठक नचल्ने सम्भावना देखिन्छ । सोमबार देवानी संहिता, देवानी कार्यविधि संहिता र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित भएको छ । संसदमा अझै २६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । सभामुख ओनसरी घर्तीको गैह्रजिम्मेवारीपन र विदेश घुम्ने लालचाले र सांसदहरुको उदासिनताले गर्दा संसदमा विधेयक रोकिन पुगेको हो । संसदको अवधि कात्तिक ४ गते सकिने जान्दा जान्दै सभामुख घर्ती एक हप्ता लामो चीन भ्रमण सकेर आइतबार मात्रै स्वदेश फर्किएकी हुन् ।

सभामुख ओसरी घर्तीको फेरि दसैँ लगत्तै श्रीलंकाको भ्रमणमा जाने कार्यक्रम तय भइसकको संसद सचिवालयले जनाएको छ । दसैँ र तिहारको बीचमा जम्मा ११ दिन संसद चल्ने सम्भावना भए पनि त्यो टरेको छ र विधेयक पारित नै नगरी संसद स्वत विघटन हुने आशंका जन्मिकएको छ । अर्को उदेक लाग्दो पक्ष त के छ भने, ५६ जना मन्त्री बनाएको सत्ता पक्षले संसदमा एक सय १ सय ४८ जना सांसद उभ्याउन नसक्नु आफैंमा लज्जाको विषय हो । संसदमा राष्ट्रियसभाको गठन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन, अन्तर सरकारी वित्त व्यवस्थापन जस्ता संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका विधेयक अलपत्र परेका छन् । यदि सो विधेयक पारित नभएको खण्डमा संविधान कार्यान्वनयको बाटो नै अवरुद्ध हुनेछ ।

प्रकाशित : 25 September, 2017

प्रतिक्रिया दिनुहोस्