बडादसैंको नवौँ दिन शुक्रवार महानवमी, देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । बडादसैंको नवौँ दिन शुक्रवार देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ।

घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा बलि चढाउने भक्तजनहरूको आज  बिहानदेखि घुइँचो लाग्ने गर्छ।

यसैगरी अन्य शक्तिपीठहरूमा उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारा लगायतका शक्तिपीठमा शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।

आज दसैंघर र कोतलगायत मुलुकको कुनाकाप्चामा रहेका विभिन्न  देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ। शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ।अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ।

यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ। हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ।

हनुमानढोकाको दसैं घरलगायत कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्ना परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाए।

प्रकाशित : 29 September, 2017

प्रतिक्रिया दिनुहोस्