सरकार र चिकित्सक संघसँग सहमति, काममा फर्किए डाक्टर

सहयात्रा टिभी

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएको छ । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएसंगै डाक्टरहरु बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न सहमत भएका हुन् । बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा र चिकित्सक संघबिच डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएकोनेपाल चिकित्सक संघले जनाएको छ ।

उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले दिनुपर्ने सरकारको निर्णयविरुद्ध डाक्टरहरुले असोज २ गतेदेखि देशभरका अस्पताल, क्लिनिक र नर्सिङहोम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएपछि चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन दबाव बढेको थियो ।

सहमतिअनुसार डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ । सरकारले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने तयारी गरेपछि त्यसको विरोधमा देशभरका चिकित्सक गएको शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै स्वास्थ्य सेवाका काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।

प्रकाशित : 29 September, 2017

प्रतिक्रिया दिनुहोस्