केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश

सहयात्रा टिभी

भीमदत्तनगर । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बन्नुभएको छ । कांग्रेसका प्रदेश नं ७ का प्रभावशाली नेताहरु दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिशमा पर्नुभएको छ ।
प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वा्चित हुनुभएको थियो । उहाँ २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वा्चित हुनुभएको थियो । स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उहाँको पार्टी नेकाले पराजय व्यहोरोपछि देउवाको आलोचनासमेत भएको थियो ।
अछाम क्षेत्र १ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार छनोट हुनुभएका एमाले उपाध्यक्ष रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वा्चित हुनुभएको थियो । त्यसैगरी प्रधानमन्त्री पत्नी डा आरजु देउवा राणा कैलालीको क्षेत्र नंं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ । नेकपा माओवादी केन्द्रका प्रदेश नं ७ का प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । यसअघिको निर्वाचनमा उहाँ कैलालीबाटै पराजित हुनुभएको थियो ।
यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको काँग्रेस कञ्चनपुरले यसपटक पनि निर्वा्चित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको नेका कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । क्षेत्र नं २ बाट सिफारिश हुनुभएका काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा्चित हुनुभएको थियो भने कांग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उहाँ पनि तत्कालीन क्षेत्र नं ४ (हालको ३) बाट निर्वा्चित हुनुभएको थियो ।
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिश काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश हुनुभएको छ । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित हुनुभएको थियो ।
त्यसैगरी, प्रतिनिधिसभाकै लागि नेका डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस हुनुभएको छ । हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई नेका बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिश गरेको छ । सुदूरपश्चिमबाट आ–आफ्नो पार्टीबाट सिफारिश भएका शीर्ष नेताहरुमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र एमाले नेता रावल मात्रै आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश हुनुभएको छ भने बाँकी नेताहरुसँगै अन्य जिल्लास्तरका नेताको नाम पनि अधिकांश पार्टीले केन्द्रमा सिफारिश गरेका छन् ।
बझाङ, बाजुरा लगायतका पहाडी जिल्लाबाट पनि उम्मेदवार सिफारिश हुने क्रम जारी छ । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न मै व्यस्त छन् । हालसम्मको सिफारिश विवरणमा राष्ट्रिय राजनीतिमा सक्रिय यहाँका नेताहरुको सिफारिश सबै पार्टीले प्रतिनिधिसभाकै लागि गरेको देखिएको छ । प्रदेश नं ७ सुदूरपश्चिममा हाल १६ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । सबैभन्दा बढी कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक÷एक क्षेत्र निर्धारण गरिएका छन् ।
यसअघि २१ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा कांग्रेस र एमालेको नतिजा अग्रस्थानमा थियो । माओवादीले प्रत्यक्षतर्फ २०७० सालको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न सकेको थिएन । केही दिनअघि सम्म प्रदेश नं ७ मा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि परिवर्तित राजनीतिक परिवेशले माहोल मोडिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् ।रासस

प्रकाशित : 5 October, 2017

प्रतिक्रिया दिनुहोस्