केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चार केन्द्रीय नेता चितवनबाट निर्वाचन लड्ने तयारीमा

सहयात्रा टिभी

चितवन । स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ । जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ ।

चितवन क्षेत्र नं १ बाट नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ बाट नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं पूर्वरक्षामन्त्री रामबहादुर थापा, क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सोही क्षेत्रबाट राप्रपा (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे निर्वाचनमा लड्ने तयारीमा हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले यसअघि नै घोषणा गरेर क्षेत्र नं ३ बाट निर्वाचन लड्ने बताइसक्नुभएको छ । गृह जिल्ला चितवन भए पनि यसअघिका निर्वाचनमा उहाँ अन्यत्रबाट प्रतिस्पर्धा गरिरहनुभएको छ ।
सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा छोरी रेणु प्रमुख हुनुहुन्छ । यसअघि सो क्षेत्रबाट नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचन भई प्रधानमन्त्रीसमेत हुनुभएको थियो ।

हाल निर्वाचन क्षेत्र गाभिएपछि सोही क्षेत्रमा पर्ने यसअघिको क्षेत्र नं ५ बाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पाण्डेले क्षेत्र नं ३ बाटै निर्वाचन लड्ने बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो “लोकतान्त्रिक गठबन्धन भए पनि नभए पनि म क्षेत्र नं ३ बाटै निर्वाचन लड्छु ।” यसअघि पार्टीभन्दा व्यक्तिगत मत बढी पाउनुभएका पाण्डेले दाहालसँग निर्वाचनमा भिड्दै बताउँदा चुनावी रौनकता र प्रतिस्पर्धा अरु थपिने देखिएको छ ।

त्यस्तै क्षेत्र नं २ बाट माओवादी केन्द्रका नेता थापा निर्वाचन लड्न इच्छुक देखिनुभएको छ । उहाँका स्वकीय सचिव अच्युत पन्तले थापा एक्लै निर्वाचन लड्ने तयारीमा रहनुभएकामा वाम एकता भएपछि झन् सजिलो बनेको बताउनुभयो । पन्तले भन्नुभयो “नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।” यसअघि पनि सोही क्षेत्रसमेत पर्ने तत्कालीन क्षेत्र नं २ बाट थापा निर्वाचित हुनुभएको थियो । थापालाई माओवादी केन्द्रका तेस्रो ठूलो नेताका रुपमा लिइन्छ ।

त्यसैगरी वामपन्थी गठबन्धनको कार्य दलमा थापा रहनुभएको छ । जिल्लाको क्षेत्र नं १ बाट एमाले नेता पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले क्षेत्र नं १ मा पाण्डेको विकल्प अरु नभएको बताउनुभयो । पार्टीको गत महाधिवेशनमा उहाँ महासचिवमा झिनो मतले पराजित हुनुभएको थियो । उहाँ सोही क्षेत्रको हालको सांसद पनि हुनुहुन्छ । जिल्लाका पाँच क्षेत्र गाभिएर ३ क्षेत्र बनेपछि वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।

केन्द्रीय नेता नै जिल्लाबाट निर्वाचन लड्ने भएपछि यहाँको विकास द्रुत गतिमा हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । यसअघि देशको राजधानी र प्रदेशको राजधानीलगायत चर्चा गरिँदै आएको भए पनि ‘छयहत्तरौँ जिल्ला’ले कुनै उपलब्धि लिनसकेको छैन । जिल्लामा तीन लाख ५४ हजार ३५ मतदाता छन् । रासस

प्रकाशित : 10 October, 2017

प्रतिक्रिया दिनुहोस्