राप्रपामा फेरि एकताको गृहकार्य
काठमाडौँ । विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण पुनःएकताबद्ध हुनका लागि गृहकार्यमा छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले भविष्यमा पार्टीको सबलताका लागि एकीकरण गर्न अनौपचारिक रुपमा पार्टीका नेताले छलफल शुरु गरेका
छन् ।
अहिले डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी), पशुपतिशम्शेर जबराको राप्रपा(प्रजातान्त्रिक) र कमल थापाको राप्रपा अस्तित्वमा छन् । ती पार्टीका शीर्ष नेतृत्वले मुलुकको राष्ट्रियता र सामाजिक एकताका साथै पार्टीको अस्तित्वका लागि एकीकरण गर्न एकार्काप्रति आग्रह गर्नुभएको छ ।
एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा लोहनीले पार्टीले लिएका वैचारिक दृष्टिकोणमा प्रष्ट भएर कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास भएमा एकता सम्भव रहेको बताउनुभयो ।
उहाँको विद्वता र राजनीतिक अनुभवसँग वामपन्थी तथा लोकतान्त्रिक दुवै गठबन्धनका तर्फबाट सहयोग मागिएको भए पनि लोकतान्त्रिक गठबन्धनतर्फ उहाँको निकटता पाइएको छ ।
दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई सहजपूर्वक स्वीकार्नुभएका राणा र डा लोहनीलाई छाडेर मुलुकमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आउनुभएका थापाले देशको राजनीतिक विकास क्रममा परिवर्तनको एक दशकभित्र ठूलो फड्को मार्दै दुई पटक उपप्रधानमन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
विगतका त्रुटि तथा कमजोरीलाई सच्याएर ‘पूर्वपञ्च’ एक ढिक्का भई मुलुकको समृद्धि तथा समाजतर्फको यात्रालाई समुन्नत बनाउन सकिने राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।
वामपन्थी गठबन्धनबाट राजनीतिमा नयाँ तरङ्ग पैदा भएपछि लोकतान्त्रिक दलमा पनि ध्रुवीकरणको पहल शुरु भइसकेको छ । राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनिल थापाले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि विभिन्न रुपमा बाँडिएका राप्रपाको एकताको प्रयास भइरहेको जानकारी दिनुभयो ।
पूर्वपञ्च पनि साना दलमा विभाजित हुन भन्दा लोकतान्त्रिक गठबन्धनमा जानैपर्ने निचोडमा पुगेर संसद्मा १९ सदस्य रहेको थापा समूहले सरकारलाई समर्थन जनाइसकेको छ । अठार सदस्य रहेको राणा समूह भने सरकारमै छ ।
विभिन्न नामबाट विभक्त भई परिवर्तित संसदीय प्रणालीमा राजनीति गरेका पूर्वपञ्च परिवेशका दलहरु करिब एक वर्ष अगाडि ठूलो तामझामका साथ एकीकृत भएका थिए । उनीहरु एक हुँदा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका पक्षमा रहने प्रतिबद्धता व्यक्त गरिए पनि सरकारमा सहभागिताका विषयमा मत बाझिएर विभाजित भएका थिए ।