केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भियतनाममा दुई दिनदेखिको अविरल बर्षाबाट ३७ को मृत्यु, ४० बेपत्ता

सहयात्रा टिभी

हनोई । दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भीषण वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

सो बाढीका कारण यहाँका करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन ।

हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुकाअनुसार वर्षा नरोकिएकोले बाढी झन बढेको छ । यसले गर्दा उद्वारकार्य कठिन भएको छ ।

भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ । बाढीका कारण करिब तीन हजार घरमा क्षति पुगेको छ । यसले गर्दा यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।

यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होवा बिन प्रान्त परेको छ । सो प्रान्तमा मात्र ११ जनाको ज्यान गएको छ । यहाँबाट २१ जना हराईरहेका छन् ।

मङ्गलबारदेखि भीषण वर्षा जारी छ । बाढी पहिरोले थान्ह होआ र होआ बिन प्रान्तमा रहेका जलविद्युत योजनामा क्षति पुर्‍याएको छ ।

बाढीबाट विस्थापित भएका हजारौँ नागरिकलाई शिवीर बनाएर राखिएको छ । सरकारले ती राज्यमा सङ्कटकालीन अवस्थाको घोषणा गरेर उद्वारलाई सक्रिय बनाएको बताएको छ । रासस

प्रकाशित : 12 October, 2017

प्रतिक्रिया दिनुहोस्