प्रगतिशील शक्तिलाई सहयोग गर्छौँ : वैद्य

सहयात्रा टिभी

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताउनुभएको छ ।

पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट गर्नुभयो ।

नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उहाँले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘‘उहाँहरु र हामीबीच कैयौ कुरा मिल्दैनन् । तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गरौ भन्ने हो’’ उहाँले भन्नुभयो, ‘‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ ।’’

सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिनुभयो ।

प्रकाशित : 15 October, 2017

प्रतिक्रिया दिनुहोस्