=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

सहयात्रा टिभी

काठमाडौँ । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ ।

कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल-राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा आज बैठकमा यस्तो निर्देशन दिइएको उहाँले सुनाउनुभयो ।

विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताउनुभयो । रु एक करोड ४० लाखको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उहाँले बताउनुभयो ।

यसअघि काठमाडौँ महानगरपालिकाले सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनःनिर्माण शुरु गरेपछि विभागले पुरातात्विक स्थलमा यस्ता सामग्री प्रयोग गर्न नपाउने भनी भत्काउन लगाएको थियो ।

परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने र सिमेन्ट प्रयोग भएको संरचना ७० वर्षभन्दा बढी नटिक्ने भएकाले आधुनिक निर्माण सामग्री पुनःनिर्माणमा रोक लगाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताउनुभयो ।

हाल विभागले नै बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनःनिर्माण गर्ने भने पनि भूकम्पको ३० महिना बितिसक्दा पनि अलपत्र छ । पानी भरिएर आकर्षक देखिने रानीपोखरी अहिले चौरमा परिणत भएको छ ।

गत असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भए पनि विभाग र काठमाडौँ महानगरपालिकाको विवादले काममा ढिलाइ भएको छ । हाल महानगरपालिकाले पुनःनिर्माणको डिजाइनको अध्ययन गरिरहेकाले काम हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ ।

रानीपोखरी पुनःनिर्माणको लागत भने रु छ करोड २९ लाख छ । प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको थियो । तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरीबीचको बाल गोपालेश्वर मन्दिर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाउने स्थलका रुपमा स्थापित छ । यो मन्दिर वर्षमा एक दिन भाइटीकामा मात्र खुल्छ ।

विसं २०७२/७३ र यस वर्ष पनि मन्दिर भत्किएका कारण मूलढोकाबाटै पूजा एवं दर्शनको व्यवस्था गरिँदै आएको विभागले जनाएको छ ।

प्रकाशित : 16 October, 2017

प्रतिक्रिया दिनुहोस्