केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्वजनिक निजी साझेदारी केन्द्र स्थापना गरिने

सहयात्रा टिभी

ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले सार्वजनिक निजी साझेदारी केन्द्रको स्थापना गरिन लागेको बताउनुभएको छ ।

आयोगद्वारा आज गोदावरीमा आयोजित सार्वजनिक निजी साझेदारी (पिपिपी) कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मुलुकलाई समृद्धितर्फ लैजान निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक निजी साझेदारी २०७२ नीति आएको र यसलाई मूर्तरुप दिन ऐन बनाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । जनताले स्थानीय निकायबाट अधिकतम सेवा सुविधा पाउने अपेक्षालाई पूरा गराउन हरेक योजना पिपिपीका आधारमा काम गरे मात्र पूरा हुन सक्ने उहाँको धारणा थियो । पिपिपीको अवधारणाले चीन, भारत, फिलिपिन्स, इण्डोनेसिया, अमेरिकालगायत देशले विकासको फड्को मारेको उहाँले बताउनुभयो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नमुना नगरपालिका बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायत क्षेत्रको विकास गरिने लक्ष्य रहेको बताउनुभयो ।

पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका–६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी दृश्यावलोकन स्तम्भ निर्माण गरिने उहाँको भनाइ थियो । यसैगरी वडा नं १० मा पर्ने भाङ्गावन र वडा नं २ विशङ्खुनारायणस्थित कोटडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने महर्जनले बताउनुभयो ।

गोष्ठीमा गोदावरी नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, उद्योगी, नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

प्रकाशित : 17 October, 2017

प्रतिक्रिया दिनुहोस्