केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार नछाड्ने मा‌ओवादीको निर्णय

सहयात्रा टिभी

काठमाडौं : माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ । माओवादी नेता एवम् गृहमन्त्री जर्नादन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति सार्ने तयारीमा रहेको थाहा पाएपछि माओवादी केन्द्रले सरकार नछाड्ने निर्णयमा पुगेको बताउनुभयो ।

मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाएर चुनावको मिति सार्ने तयारी गरेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको बताउनु भयो ।

गृहमन्त्रीले भन्नुभयो “निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।”

कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा भने गृहमन्त्री शर्माले कुनै जानकारी दिनुभएन । उहाँले भन्नुभयो “निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।”

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम रोकेको उहाँको भनाइ छ ।

मंगलबार बिहान मात्र प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको थियो।

निर्वाचनको वातावरण बन्ने भए सरकार छोड्न तयार भएको आश्वासन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई दिनु भएको थियो। यद्यपी देउवा र प्रचण्डबीच भेटवार्ता भएको केही बेरमा निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि तत्काल माओवादीले सरकार नछोड्ने निर्णय गरेको गृहमन्त्री शर्माको भनाइ छ।

गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताउनु भएको हो ।

प्रकाशित : 17 October, 2017

प्रतिक्रिया दिनुहोस्