लोकदर्शन रेग्मी मुख्यसचिव, पोखरेलको राजीनामा पनि स्वीकृत
काठमाडौं । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेर हदका कारण कात्तिक ७ गते अनिवार्य अवकाश लिने भएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिरका लागि यसअघि राजीनामा दिएर गएपछि क्षेत्री २९ असारमा मुख्यसचिव बनेका थिए ।
रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मी नै मुख्यसचिव बनेका छन् । मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।
आजको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको छ भने प्राधिकरणमा पूर्वसचिव युवराज भूसाललाई ‘तत्कालका लागि’ सीईओ बनाएको छ ।