फोरम र राजपा सिट बाँडफाँटको सहमति नजिक

सहयात्रा टिभी

काठमाडौं । चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबिच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टी्बिच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

‘कांग्रेस र फोरमसँगको वार्ता करिब सहमति नजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्न सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौँ’– उहाँले भन्नुभयो । समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य राम नरेशराय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमति नजिक पुगेको बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उहाँको भनाइ छ । दुई पार्टी्बिच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ । फोरम–राजपाले कांग्रेससँग पनि चुनावी तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ । फोरम र राजपाबीच सहमति भएपछि मात्रै कांग्रेससँग छलफल गर्ने नेता सुमनले बताउनुभयो । – रासस

प्रकाशित : 24 October, 2017

प्रतिक्रिया दिनुहोस्